काठमाडौं । यातायात व्यवस्था विभागले आजदेखि चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सबै सेवा पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ। विभागका अनुसार अब नयाँ लाइसेन्सको आवेदन, नवीकरण, राजस्व भुक्तानीलगायत सबै प्रक्रिया अनलाइनबाटै गर्न सकिनेछ।
विभागले सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले सातै प्रदेशका लागि छुट्टाछुट्टै वेब पोर्टल सञ्चालनमा ल्याएको जनाएको छ। अब सेवाग्राहीले आफ्नो प्रदेशअनुसारको पोर्टलमा प्रवेश गरी आवेदन, शुल्क भुक्तानी तथा अन्य आवश्यक प्रक्रिया अनलाइनमार्फत पूरा गर्न सक्नेछन्।
यद्यपि प्रारम्भिक चरणमा स्वास्थ्य परीक्षणका लागि भने सेवाग्राही सम्बन्धित यातायात कार्यालयमा अनिवार्य रूपमा उपस्थित हुनुपर्ने व्यवस्था कायम रहने विभागले स्पष्ट गरेको छ। स्वास्थ्य परीक्षणबाहेक अन्य अधिकांश प्रक्रिया अनलाइनबाटै सम्पन्न हुने भएकाले कार्यालयमा अनावश्यक भीड कम हुने अपेक्षा गरिएको छ।
विभागका निर्देशक केशव खतिवडाका अनुसार राष्ट्रिय परिचयपत्र वा नागरिक एपमा आबद्ध सेवाग्राहीले क्यूआर कोड स्क्यान गरेर आवेदन फाराममा आफ्ना व्यक्तिगत विवरण स्वतः भर्न सक्नेछन्। नागरिक एपमा आबद्ध नभएका सेवाग्राहीले भने हाल कायम रहेको प्रक्रिया अनुसार व्यक्तिगत विवरण आफैं भरेर आवेदन दिनुपर्ने व्यवस्था यथावत् रहनेछ।
विभागले पूर्ण अनलाइन प्रणाली लागू भएपछि सेवाग्राहीले फाराम भर्न वा राजस्व तिर्न बैंक तथा कार्यालयमा लामो लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुने जनाएको छ। यस व्यवस्थाबाट लाइसेन्स सेवा थप छिटो, सहज, पारदर्शी र झन्झटमुक्त बन्ने विभागको विश्वास छ।
