कृष्ण कुँवर (कर्नेलियस) -अबुधाबी — अतिरिक्त समयको रोमाञ्चक प्रतिस्पर्धामा साविक विजेता अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को च्याम्पियन बनेको छ। मेटलाइफ स्टेडियममा सम्पन्न फाइनलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो।
स्पेनका लागि निर्णायक गोल खेलको १०६औँ मिनेटमा वैकल्पिक खेलाडी फेरान टोरेसले गरे। ६२औँ मिनेटमा मैदान प्रवेश गरेका टोरेसले निको विलियम्सको उत्कृष्ट पासलाई सदुपयोग गर्दै अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजलाई बिट गरेका थिए। अतिरिक्त समयमै उनले अर्को गोल गरे पनि भिडियो सहायक रेफ्री (VAR) ले अफसाइड ठहर गरेपछि उक्त गोलले मान्यता पाएन।
अर्जेन्टिनालाई खेलको ९४औँ मिनेटमा ठूलो झट्का लागेको थियो। मिडफिल्डर एन्जो फर्नान्डेजले दोस्रो पहेँलो कार्ड पाएपछि रातो कार्डसहित मैदान छाडेका थिए, त्यसपछि १० खेलाडीमा सीमित अर्जेन्टिनामाथि स्पेनले झनै दबाब बढाउँदै लगेको थियो।
जितसँगै स्पेनले दोस्रो पटक फिफा विश्वकपको उपाधि जित्दै अर्को ऐतिहासिक उपलब्धि आफ्नो नाममा लेखाएको छ। स्पेन प्रतियोगिताभर केवल एक गोल मात्र व्यहोरेर विश्वकप जित्ने इतिहासकै पहिलो टोली बनेको छ। साथै, लगातार यूईएफए युरो च्याम्पियनसिप र फिफा विश्वकप जित्ने दुर्लभ राष्ट्रको सूचीमा पनि स्पेनले आफ्नो नाम दर्ज गराएको छ।
प्रतियोगिताका व्यक्तिगत उपलब्धितर्फ फ्रान्सका कप्तान किलियन एम्बाप्पे १० गोलसहित ‘गोल्डेन बुट’ विजेता बने। तेस्रो स्थानका लागि इंग्ल्याण्डविरुद्ध दुई गोल गर्दै उनले विश्वकप इतिहासमा २२ गोलसहित सर्वाधिक गोलकर्ता बन्ने कीर्तिमान कायम गरे। उनले लियोनेल मेसी (२१ गोल) र मिरोस्लाभ क्लोजे (१६ गोल) को कीर्तिमान उछिनेका हुन्।
