दाङ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले विपन्न, अभिभावकविहीन तथा जेहेन्दार विद्यार्थीको अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले आफ्नो तलबभत्ताबाट रु १ लाख १ हजारको अक्षयकोष स्थापना गरेका छन्।
गाउँपालिकाअन्तर्गत रहेको सर्वोदय माध्यमिक विद्यालयमा स्थापना गरिएको उक्त अक्षयकोषबाट आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुने जोखिममा रहेका विद्यार्थीलाई आवश्यक शैक्षिक सहयोग प्रदान गरिने विद्यालय व्यवस्थापन समितिले जनाएको छ।
अध्यक्ष विष्टले आफूलाई मासिक रूपमा प्राप्त हुने रु ३३ हजार तलबभत्ताबाट रकम बचत गरी अक्षयकोष स्थापना गरेको जानकारी दिए। उनले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई आधारभूत शिक्षाबाट वञ्चित हुन नदिन आफूले यो पहल गरेको बताए।
स्थानीय तहका जनप्रतिनिधिबाट शिक्षा क्षेत्रमा गरिएको यस पहललाई सकारात्मक उदाहरणका रूपमा हेरिएको छ। विद्यालयले अक्षयकोषबाट लक्षित विद्यार्थीलाई दीर्घकालीन रूपमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
