मकवानपुर । बागमती प्रदेशसभाको बुधबार बसेको बैठकमा शिक्षा र ऊर्जा क्षेत्रसँग सम्बन्धित दुई विधेयक टेबुल गरिएको छ।
सामाजिक विकास मन्त्री कञ्चन चन्द्र बादेले ‘प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक, २०८३’ प्रदेशसभामा प्रस्तुत गर्दै प्रदेशभित्रको उच्च शिक्षालाई गुणस्तरीय, व्यवस्थित र समयानुकूल बनाउन ऐन संशोधन आवश्यक रहेको बताए। उनले प्रस्तावित संशोधनले प्रदेशअन्तर्गतका विश्वविद्यालयहरूको सञ्चालन, प्राज्ञिक स्वायत्तता र प्रशासनिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।
त्यसैगरी खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले ‘प्रदेशमा विद्युत् विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ टेबुल गरेका छन्। उनले विधेयकले प्रदेशभित्र विद्युत् उत्पादन, प्रसारण र वितरणलाई व्यवस्थित गर्नुका साथै जलविद्युत् र नवीकरणीय ऊर्जाको प्रवर्द्धनमार्फत प्रदेशलाई ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउन कानुनी आधार तयार गर्ने बताए।
बैठकअघि प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईँले दुवै मन्त्रीलाई विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्न समय दिएकी थिइन्। विधेयकमाथि कुनै पनि सांसदले विरोधको सूचना दर्ता नगरेपछि दुवै विधेयक सदनमा टेबुल गरिएको हो।
अब यी विधेयकमाथि आगामी प्रदेशसभा बैठकमा दफावार छलफल हुनेछ। छलफलका क्रममा आएका सुझाव र आवश्यक संशोधन समेटेर विधेयक पारित गर्ने प्रक्रिया अघि बढाइनेछ।
